Nov 12 2026 | २०८३, कार्तिक २७गते

करिब ६ हजार शिक्षकको बढुवा उजुरी पुनरवलोकन नतिजा प्रकाशन गर्दै आयोग

करिब ६ हजार शिक्षकको बढुवा उजुरी पुनरवलोकन नतिजा प्रकाशन गर्दै आयोग

  • 265
    SHARES

  • करिब ६ हजार शिक्षकको बढुवा उजुरी पुनरवलोकन नतिजा प्रकाशन गर्दै आयोग

    काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीमाथि पुनरवलोकन गरी नतिजा प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको छ।

    आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची क्रमशः प्रकाशन भइरहेको छ।

    ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ मा भएको व्यवस्थाअनुसार आयोगले प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गरी सम्बन्धित जिल्ला र तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाएको हो।

    विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमाथि परेका उजुरीको अध्ययन तथा छानबिनपछि आयोगले पुनरवलोकनको नतिजा सार्वजनिक गर्दै आएको छ। तर, आयोगका पदाधिकारी करिब ६ महिनासम्म रिक्त रहेपछि पुनरवलोकनसम्बन्धी काम रोकिएको थियो।

    आयोगले चालु कात्तिक महिनामा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको पुनरवलोकन नतिजा प्रकाशन गरेको छ। यसअघि गत असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कास्कीको नतिजा सार्वजनिक गरेको थियो।

    नेपाल सरकारले गत भदौ २५ गते डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्ष नियुक्त गर्दै नयाँ पदाधिकारी नियुक्त गरेको थियो। यसअघि गत वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।

    नयाँ पदाधिकारी नियुक्त भएसँगै रोकिएको बढुवा उजुरी पुनरवलोकन प्रक्रिया पुनः अघि बढेको हो।

    images
    शनिवार, कार्तिक १५ २०८३०२:२७:०७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल