मंगलवार, कार्तिक २५ २०८३
चितवन । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने जिम्मेवारी बोकेका केही विद्यालय व्यवस्थापन समितिको ध्यान भने शिक्षण सिकाइ सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा बढी केन्द्रित भएको पाइएको छ।
विद्यालयको वास्तविक शैक्षिक अवस्था पहिचान गरी सुधारका उपाय खोज्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाई चितवनले विद्यालय अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी, अधिकार र कानुनले निर्धारण गरेको कार्यक्षेत्रबारे थप अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको इकाईले जनाएको छ।
इकाई प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमनको काम अघि बढाइएको हो। अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठामा अपनाइरहेको शिक्षण अभ्यासको प्रत्यक्ष अवलोकन गरी आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने सुझाव प्राप्त भएको उनले बताए।
यसका लागि विषयविज्ञसहितको टोली गठन गरी विद्यालय अनुगमन गर्ने तयारी भइरहेको पोखरेलले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित देखिएका छन्। उनीहरूले विद्यालयमा रहेका समस्या पहिचान गरी समाधानका लागि प्राविधिक सहयोग र नियमित अनुगमनको आवश्यकता औँल्याएका छन्।
विद्यालय अनुगमनबाट प्राप्त विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइसकिएको इकाईले जनाएको छ। अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समेत समन्वय गरिएको छ। पोखरेलले अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै शिक्षकहरूले नै अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुधारका सुझाव दिन आग्रह गरेको बताए।
विद्यालय सुधारका लागि अनुगमन नियमित प्रक्रिया बन्नुपर्नेमा जोड दिँदै पोखरेलले आफूले सुरु गरेको अभियानलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पार्ने उनको भनाइ छ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार चितवनमा हाल सामुदायिक, संस्थागत र धार्मिक गरी कुल ४९७ विद्यालय सञ्चालनमा छन्। तीमध्ये ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय रहेका छन्।
चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल