Nov 12 2026 | २०८३, कार्तिक २७गते

विद्यार्थीको दोहोरो विवरणबाट सरकारी अनुदान दुरुपयोगको आशंका, मन्त्रालयले थाल्यो छानबिन

विद्यार्थीको दोहोरो विवरणबाट सरकारी अनुदान दुरुपयोगको आशंका, मन्त्रालयले थाल्यो छानबिन

  • 193
    SHARES

  • विद्यार्थीको दोहोरो विवरणबाट सरकारी अनुदान दुरुपयोगको आशंका, मन्त्रालयले थाल्यो छानबिन

     

    काठमाडौँ । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इ-एमआईएस) मा २ लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको प्रारम्भिक अध्ययनबाट देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ।

    प्रणालीमा ठूलो सङ्ख्यामा विद्यार्थीको विवरण दोहोरिएको विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो। बिहीबार गठित समितिलाई प्रणालीमा देखिएको दोहोरो विवरणको कारण पहिचान गरी सम्भावित अनियमितता र जिम्मेवार व्यक्तिबारे अध्ययन गर्न कार्यादेश दिइएको छ।

    मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य छन्। त्यस्तै, विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

    अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएका छन्। यसरी एउटै विद्यार्थीको विवरण एकभन्दा बढी पटक प्रविष्ट हुँदा राज्यकोषबाट उपलब्ध गराइने अनुदान, छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाक, पाठ्यपुस्तक लगायतका सुविधामा अनियमितता भएको हुन सक्ने मन्त्रालयको आशंका छ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताएका छन्। दोहोरो विवरणका आधारमा सरकारी रकम दुरुपयोग भइरहेको हुन सक्ने देखिएकाले विस्तृत छानबिनपछि दोषीमाथि कारबाही गरिने उनको भनाइ छ। “हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,” मन्त्री पोखरेलले भने।

    समितिले इ-एमआईएसमा यति ठूलो सङ्ख्यामा विद्यार्थीको विवरण दोहोरिनुमा प्राविधिक कमजोरी जिम्मेवार छ वा नियतवश गलत विवरण प्रविष्ट गरिएको हो भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेस गरी राज्यकोषको रकम दुरुपयोग गरेको पुष्टि भएमा सम्बन्धित विद्यालय, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिमाथि हदैसम्मको कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

    images
    शुक्रवार, कार्तिक २१ २०८३०५:०८:५०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल