Nov 12 2026 | २०८३, कार्तिक २७गते

शिक्षण पेसाप्रति युवाको मोह घट्दै, पाँच वर्षमै लाइसेन्स परीक्षाका आवेदक उल्लेख्य घटे

शिक्षण पेसाप्रति युवाको मोह घट्दै, पाँच वर्षमै लाइसेन्स परीक्षाका आवेदक उल्लेख्य घटे

  • 178
    SHARES

  • शिक्षण पेसाप्रति युवाको मोह घट्दै, पाँच वर्षमै लाइसेन्स परीक्षाका आवेदक उल्लेख्य घटे

    काठमाडौँ । पछिल्लो समय शिक्षण पेसालाई आफ्नो करियरका रूपमा रोज्ने युवा पुस्ताको सङ्ख्या घट्दै गएको देखिएको छ। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षासम्बन्धी तथ्याङ्कले निम्न माध्यमिक र माध्यमिक दुवै तहमा आवेदन दिने उम्मेदवारको सङ्ख्या निरन्तर घट्दो क्रममा रहेको देखाएको हो।

    शिक्षण पेसामा देखिएको आकर्षणको कमी र श्रमबजारका अन्य क्षेत्रमा बढ्दै गएका रोजगारीका अवसरलाई यस प्रवृत्तिको प्रमुख कारणका रूपमा हेरिएको छ। तुलनात्मक रूपमा आकर्षक सुविधा, आम्दानी र करियर विकासका विकल्प उपलब्ध हुन थालेपछि युवाहरू शिक्षण पेसाभन्दा अन्य क्षेत्र रोज्न थालेको विश्लेषण गरिएको छ।

    शिक्षक सेवा आयोगको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि २ लाख ६ हजार ६८० जनाले आवेदन दिएका थिए। तीमध्ये ३१ हजार ५५८ जना मात्र उत्तीर्ण भएका थिए। तर, त्यसपछिका वर्षमा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको छ।

    आर्थिक वर्ष २०७८/७९ मा १ लाख ७९ हजार ४९० जनाले आवेदन दिँदा १३ हजार ७ जना उत्तीर्ण भएका थिए। त्यस्तै, २०७९/८० मा आवेदन सङ्ख्या घटेर १ लाख १९ हजार ३११ पुगेको थियो भने उत्तीर्ण हुने १० हजार ९७४ जना थिए। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ९ हजार ८२ जनाले आवेदन दिएकोमा ३५ हजार २६८ जना सफल भएका थिए। उत्तीर्ण सङ्ख्यामा उतारचढाव देखिए पनि आवेदन दिने उम्मेदवारको सङ्ख्या भने निरन्तर ओरालो लागेको छ।

    माध्यमिक तहको अवस्था पनि यसभन्दा फरक छैन। आर्थिक वर्ष २०७७/७८ मा ६७ हजार ९२६ जनाले अध्यापन अनुमतिपत्रका लागि आवेदन दिएकोमा २३ हजार १२ जना उत्तीर्ण भएका थिए। २०७८/७९ मा ६१ हजार ५५ जनाले आवेदन दिँदा २३ हजार ३६६ जना सफल भए। त्यसैगरी, २०७९/८० मा आवेदन दिने सङ्ख्या ४५ हजार ५१० मा झर्दा उत्तीर्ण हुनेको सङ्ख्या १२ हजार ७२९ थियो।

    आर्थिक वर्ष २०८०/८१ मा माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि ४३ हजार ३२३ जनाले आवेदन दिएका थिए। तीमध्ये २४ हजार ५८१ जना उत्तीर्ण भएका थिए। यसरी चार वर्षको अवधिमा निम्न माध्यमिक र माध्यमिक दुवै तहमा आवेदन दिने उम्मेदवारको सङ्ख्यामा उल्लेख्य गिरावट देखिएको छ।

    शिक्षक सेवा आयोगको वार्षिक प्रतिवेदनले अध्यापन अनुमतिपत्रका लागि आवेदन घट्नुका पछाडि मुख्यतः दुई कारण औँल्याएको छ। पहिलो, नयाँ पुस्तामा परम्परागत रूपमा सम्मानित र स्थायी पेसाका रूपमा लिइने शिक्षण पेसाप्रतिको आकर्षण कमजोर हुँदै जानु हो। दोस्रो, अन्य क्षेत्रमा रोजगारी तथा करियर निर्माणका नयाँ र तुलनात्मक रूपमा आकर्षक अवसर विस्तार हुनु हो।

    यसैबीच, आर्थिक वर्ष २०८२/८३ को माध्यमिक तहको सामान्य परीक्षाको नतिजाले पनि शिक्षक जनशक्ति उत्पादनको अवस्थाप्रति थप प्रश्न उठाएको छ। परीक्षामा सहभागी भएका ३८ हजार १२४ उम्मेदवारमध्ये ११ हजार २३६ जना मात्र उत्तीर्ण भएका छन्। यसअनुसार उत्तीर्णदर २९.४७ प्रतिशत रहेको छ भने २६ हजार ८८८ जना अर्थात् ७०.५३ प्रतिशत उम्मेदवार असफल भएका छन्।

    प्रदेशगत नतिजामा मधेस प्रदेश सबैभन्दा कमजोर देखिएको छ। त्यहाँ उत्तीर्णदर २२.१९ प्रतिशतमा सीमित भएको छ। सबैभन्दा राम्रो नतिजा ल्याएको गण्डकी प्रदेशको उत्तीर्णदर पनि ३३.९३ प्रतिशत मात्रै छ। यसले शिक्षक अनुमतिपत्र परीक्षामा सहभागी उम्मेदवारको ठूलो हिस्सा सफल हुन नसकेको देखाउँछ।

    त्यस्तै, सबैभन्दा बढी ९ हजार १४७ जना उम्मेदवार कोशी प्रदेशबाट सहभागी भएका थिए भने सबैभन्दा कम २ हजार ३५१ जना सुदूरपश्चिम प्रदेशबाट सहभागी भएका थिए। बागमती प्रदेशमा ४ हजार ६०२ जनाले परीक्षा दिएकोमा १ हजार ७६६ जना मात्र उत्तीर्ण भएका छन्। यहाँको उत्तीर्णदर करिब ३८.३७ प्रतिशत रहेको छ।

    एकातिर अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुने युवाको सङ्ख्या घट्दै जानु र अर्कोतिर परीक्षामा सहभागी भएकामध्ये ठूलो सङ्ख्या असफल हुनु शिक्षा क्षेत्रका लागि चुनौतीपूर्ण विषय बनेको छ। यही प्रवृत्ति कायम रहेमा आगामी दिनमा विद्यालय तहका लागि आवश्यक दक्ष र योग्य शिक्षक जनशक्ति उपलब्ध गराउन कठिनाइ हुन सक्ने देखिन्छ।

    गुणस्तरीय शिक्षाका लागि योग्य शिक्षकको उपलब्धता अनिवार्य मानिन्छ। त्यसैले शिक्षण पेसालाई युवामैत्री, आकर्षक र मर्यादित बनाउँदै सेवा सुविधा, वृत्तिविकास तथा पेसागत सुरक्षामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

    images
    सोमवार, कार्तिक २४ २०८३०६:०२:०७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल