Nov 12 2026 | २०८३, कार्तिक २७गते

अब त्रिविका शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरमै पुग्ने, हुलाक सेवासँग सम्झौता

अब त्रिविका शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरमै पुग्ने, हुलाक सेवासँग सम्झौता

  • 247
    SHARES

  • अब त्रिविका शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरमै पुग्ने, हुलाक सेवासँग सम्झौता

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात प्राप्त गर्न विश्वविद्यालयसम्म धाउनुपर्ने झन्झट हटाउने भएको छ। अब विश्वविद्यालयबाट जारी हुने प्रमाणपत्र र आवश्यक कागजात हुलाक सेवामार्फत सिधै विद्यार्थीको घरठेगानामा पुर्‍याइने व्यवस्था गर्न लागिएको हो।

    यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच मंगलबार औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात विद्यार्थीले उपलब्ध गराएको सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा सुरक्षित रूपमा हुलाकमार्फत वितरण गरिनेछ। यसले प्रमाणपत्र लिनका लागि लामो दूरी तय गर्नुपर्ने र समय खर्चिनुपर्ने विद्यार्थीको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ।

    २२ बुँदे सम्झौतामा कागजातको ढुवानी तथा वितरणलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन ट्र्याकिङ बारकोड प्रयोग गर्ने व्यवस्था पनि समेटिएको छ। हुलाकमार्फत पठाइने वस्तु पोस्टल ट्र्याकिङ सिस्टम (पीआईटीएस) मा दर्ता गरिनेछ। यसबाट सम्बन्धित कागजात कहाँ पुगेको छ र तोकिएको ठेगानामा वितरण भयो वा भएन भन्ने जानकारी अनुगमन गर्न सकिनेछ।

    कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका सेवा हुलाक प्रणालीसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गरे।

    त्यसैगरी, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यबीचको महत्वपूर्ण सम्पर्क माध्यम भएको उल्लेख गर्दै त्रिविका कागजात घरघरमा पुर्‍याउने जिम्मेवारी पाउनु हुलाक सेवाका लागि सकारात्मक अवसर भएको बताइन्।

    यो व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिविका विद्यार्थीले शैक्षिक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्राप्त गर्न सहजता पाउनेछन्। साथै विश्वविद्यालयको सेवा प्रवाहलाई थप प्रविधिमैत्री, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, कार्तिक २० २०८३१०:४९:४३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल